महामन्त्री कायम राख्न माग गर्दै मुकुल ढकालले दिए पार्टीमा पुनरावेदन निवेदन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुन महामन्त्री पदमा बहाली होस् भन्दै पुनरावेदन गरेका छन् । साधारण सदस्यबाट समेत निलम्बनमा परेका ढकालले महामन्त्री पदमा बहाली होस् भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन् ।

उनले पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको दाबि गरेका छन् । उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।

पुनरावेदनमा उनले तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।

‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट त्यसको पुनरावेदन गरेको छु‚’ उनले भने‚‘ साधारण सदस्यबाट हटाइएको भनिएको निर्णयविरुद्ध नभई महामन्त्री पदबाट हटाइएको भनिएको निर्णयविरुद्ध पार्टीकै पुनरावेदन समितिमा पुनरावेदन गरिएको हो ।’

प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार  १२ : ४९ बजे