काठमाडौँ । सरकारले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनको खातामा ६५ लाख रुपैयाँ पठाएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यम मार्फत पलेशाको खातामा रकम जम्मा गराएको जानकारी गराएका हुन्।
सरकारले पलेशाका प्रशिक्षक र टोली व्यवस्थापकलाई पनि पुरस्कृत गरेको छ। प्रशिक्षक कविराज नेगी लामालाई र ५ लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु २ लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ।
भदौ २० गते बसेको मन्त्रिपरिषद बैठकले पलेशालाई दिइने रु ६५ लाख पुरस्कार राशिमा कर नकटाई पुरस्कृत गरिएको हो।
युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए।
विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए।
कार्यक्रममा युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए।
मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए।














