काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ ।
छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।
सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।
सार्वजनिक गरेको प्रतिवेदन अनूसार गोरखा मिडियामा सहकारीको रकम ल्याउने सम्बन्धीका सबै काम जीबी राईले नै गरेको पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीले बताएका छन् ।
तेस्तै ठगी मुद्दामा अहिले कारागार कार्यालय कास्कीमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा सबै समस्या आएको बताएका छन् ।
उनले बयानमा भनेका छन्, “निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ । ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।”
छानबिन समितिमा रम्तेलले सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट आफ्नो नाममा करीब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करीब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको स्वीकार गरेका छन् । ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृह मन्त्री एवम् प्रतिनिधि सभाका माननीय सदस्य र करीब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पुर्व नायव महानिरीक्षक भएकोमा आफू यकीन रहेको र सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको बयान दिएका छन् ।














