सरकारी वकिलको कार्यालयमा छविको बयान सुरु



कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा पुर्‍याइएको छ।

मंगलबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।

जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

जोशी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

छवि गोर्खा मिडिया नेटवर्कमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका साझेदारसमेत रहेका थिए।

सहकारी छानबिन समितिलाई दिएको बायानमा छविले गोर्खा मिडियामा ल्याइएको सहकारीको रकमका सम्बन्धमा रवि र गोर्खाका अध्यक्ष जीबी राई नै जिम्मेवार रहेको बयान दिएका थिए।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  १२ : ०८ बजे