काठमाडौं– सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएपछि रास्वपा सभापति रवि लामिछाने जोडिएको भनेको सहकारी प्रकरण अझ पेचिलो हुने निश्चित छ।
सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले अनुसन्धानलाई प्राविधिक रुपमा सहयोगका लागि टोली पोखरा पठाइएको स्विकारे। ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
गोरखा मिडियामा रवि लामिछानेका साझेदार रहेका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेपछि यता राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा हलचल पैदा भएको थियो। सभापति लामिछानेको सम्भावित गिरफ्तारीलाई मध्यनजर राख्दै आइतबार रातिसम्म रास्वपा कार्यकर्ताहरु मुख्यालय पुगेर नाराबाजी गरिरहेका थिए।
सभापति लामिछानेले पनि सामाजिक सञ्जालबाट प्रधानमन्त्री केपी ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन आग्रह गरे। रातिसम्म मुख्यालयमा रहेका सभापति लामिछाने स्वयं पनि सम्भावित पक्राउका कारण हतास भएको उनी निकट स्रोतहरुले बताएका थिए।
उता, जोशीलाई पोखरा पुराएर उनको बयान प्रारम्भ भइसकेको अवस्था छ। जोशीले आफ्नो प्रारम्भिक बयानमा ‘सहकारी प्रकरणमा आफूलाई केही थाहा नभएको। तर जीबी र रवि यो विषयमा जानकार रहेको’ बताएका छन्। उनले प्रहरीसमक्ष आफूलाई मात्र पक्राउ गरिएकोमा समेत प्रश्न गरेको बताइएको छ।
जोशीको जिल्ला सरकारी वकिल कार्यालय पोखरामा अहिले जोशीको बयान जारी छ। सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहित, रवि र जीवीलाई कारबाही गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।
पोखराको सुर्दशन सहकारीबाट बचतकर्ताका १ अर्ब ५ करोड भन्दा बढि रकम अपचलन भएको भेटिएको छ।
यता, गृहमन्त्रालय सहकारी प्रकरणमा रणनीतिक रुपमा अघि बढ्ने सोचमा अघि बढेको देखिन्छ। रविका साझेदार छविलाल जोशीलाई पक्राउ गरेको प्रहरीले रविलाई भने पक्राउपुर्जी थमाइसकेको छैन। ‘उहाँ पनि जुनसुकै बेला पक्राउ पर्न सक्नुहुन्छ’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘संसदीय छानबिन समितिको रिपोर्ट अनुसार अघि बढ्ने तयारी मन्त्रालयको छ।’














