रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान अवरुद्ध गर्न खोजे : महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै हल्ला गरेको भरमा क्लिनचिट प्राप्त नहुने बताएका छन्।

धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले रास्वपा र रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेकोसमेत आरोप लगाएका छन्।

‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ,’ पोखरेलले भने, ‘त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिनचिट प्राप्त हुँदैन।’

अनुसन्धानलाई नै अवरुद्ध गरेर रास्वपा र रविले कानुनी राज्यको उपहास गरेकोसमेत बताए।

‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ पोखरेलले थपे, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ।’

जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्नु कुनै अर्थमा उचित नहुने उनको भनाइ छ।

सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।

‘एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा ९झण्डै ६५ करोड० सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीले लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ,’ उनले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्ने अत्यन्त हानिकारक छ।’

प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार  १ : ४१ बजे