चीनको सैन्य अभ्यासले चीन-ताइवान तनाव उत्कर्षमा,निगरानी गर्दै अमेरिका



एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ ।

ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो ।बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यासलाई तर्कसङ्गत नभएको र उत्तेजक व्यवहारू भनेको छ।उसले सैन्य अभ्यासको निन्दा गर्दै आफ्नो रक्षा गर्न आफूहरू तयार रहेको बताएको छ।

समुद्री तटहरूमा सैन्य अभ्यास भइरहेको भए पनि हवाई तथा सामुद्रिक यातायात सञ्चालनको अवस्था सामान्य रहेको ताइवानको यातायात मन्त्रालयले जनाएको छ।

ताइवानको मुख्य सहयोगी देश अमेरिकाले उक्त सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ। तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ।

यसै वर्षको सुरुमा लाइले ताइवानको राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका थिए। त्यस बेला पनि चीनले ताइवानको वरिपरि सैन्य अभ्यास गरेको थियो।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार  ४ : ४० बजे