काठ्माण्डौ-
भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको र त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका निर्देशक डा . अशोक सेठले जनाए ।उनको अन्तिम संस्कार आइतबार निगम बोध घाटमा गरिने जानकारी दिइएको छ ।
केजरीवाल सरकारले दुई दिन दिल्लीमा राजकीय शोक मनाउने घोषणा गरेको छ ।
शीला दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबको कपूरथलामा भएको थियो ।दीक्षित १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी थिइन् ।
सन् १९९८ मा उनलाई तत्कालिन कँग्रेस अध्यक्ष सोनिया गान्धीले दिल्लीको जिम्मेवारी दिएकी थिइन् । उनले चुनाव जितेर मुख्यमन्त्री बन्न सफल भइन् । उनले सन् २०१३ सम्म तीन कार्यकाल मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।










