सहकारी ठगी प्रकरण : रविलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएका छन् ।

संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् । लामिछानेले भीड जम्मा पारेर सरकारमाथि नै धावा बोलेको भनेर रास्वपाको आलोचना भैरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिवेलापनि रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।

सम्भवतः आज साँझसम्म प्रहरीले एक्शन लिने बुझिएको छ । काँस्की जिल्ला अदालत पनि आजबाट खुलेकोले लामिछानेलाई पक्राउ गर्न सहज हुने प्रहरीको बुझाई छ ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  १२ : ११ बजे