काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन् ।
उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् ।यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुडकिलो शिर्षकलगायत उल्लेख छन् ।
जलनको निःशुल्क उपचार अन्तरगत निःशुल्क गर्न सातै प्रदेशबाट कस्मेटिक बाहेकका जलनको उपचार सेवा सुरु गरेको उपलब्धी विवरणमा उल्लेख छ ।
मन्त्री पौडेलले संघीय अस्पतालहरूमा दुई सिफ्ट ओपीडी सेवा विस्तारको महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको बताएका छन् । जनस्वास्थ्यका समसामयिक समस्याको सम्बोधन गर्न तीन तहका सरकारबीच समन्वय गरी बैठक, तालिमलगायत काम चुस्त बनाइएको पनि उपलब्धी विवरणमा उल्लेख छ ।
साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए ।एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरुलाई प्रादेशिक अस्पतालहरुमा कामकाजमा लगाइएको तथा प्रदेश तथा स्थानीय तहहरुमा दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीहरुको सम्बन्धमा समस्या समाधानको कार्य प्रारम्भ भएको समेत बताए ।
गत असोज ११ र १२ गतेको बाढी पहिरोमा परी घाइते भएका तथा मृतकका परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवथा गरिएको मन्त्री पौडेलले बताए । देशभरका ५२ हजार सामुदायिक स्वास्थ्य स्वंयसेविकाका लागि कात्तिक १५ गतेदखि लागु हुनेगरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक सवारीमा भाडा नलाग्ने व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ ।
राष्ट्रिय खेलाडीको सम्मानस्वरुप अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिएको पनि उनले बताए ।
त्यसैगरी हैजा, डेंगी, झाडापखाला लगायतका संक्रामक महामारी तथा जनस्वास्थ्य विपदहरुको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरुलाई सक्रिय बनाइएको जानकारी दिए ।
सिंहदरबार बैद्यखानाबाट ४० किसिमका औषधि उत्पादन तयारी अघि बढाइएको र औषधिको मूल्य नीति सुझाव समिति गठन गरी स्वतःस्फूर्त मूल्य कायम गर्नेगरी काम अघि बढाइएको पनि उनले जानकारी दिए ।तेस्तै स्वास्थ्य बिमा पुनसंरचनाका लागि उच्चस्तरीय कार्यदल गठन भइ काम अघि बढाइएको मन्त्री पौडेलले बताए ।
तेस्तै संघीय अस्पतालहरूको बिग्रिएका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको र हालसम्म चार सयभन्दा बढी सामग्रीको मर्मत भइसकेको मन्त्री पौडेलले जानकारि दिए ।














