जापानमा निर्वाचनपछि राजनीतिक उथलपुथल



काठमाडौ । जापानमा त्यहाँको सत्तारूढ दल लिबरल डिमोक्र्याटिक पार्टी ९एलडीपी०ले आफूले निर्वाचनमा अनपेक्षित पराजय बेहोर्नुपरेपछि अबको राजनीतिक बाटोका बारेमा छलफल थालेको छ।

आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्योल सिर्जना भएपछि राजनीतिक दलहरूले आपसी छलफल र मोलमोलाईको चरण सुरु गर्ने अपेक्षा छ।

राजनीतिक अनिश्चितताका कारण जापानी मुद्रा येनको मूल्य गत तीन महिनायता कै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ।

हालै मात्र नियुक्ति पाएका र मध्यावधि निर्वाचन गराएका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारलाई निरन्तरता दिइरहने बताएका छन्। त्यसका लागि उनलाई विपक्षीहरूको समर्थन आवश्यक पर्छ। तर अहिले त्यो सम्भव भए जस्तो देखिएको छैन।

एलडीपीले आइतवारको निर्वाचनमा संसद्‌मा शक्तिशाली तल्लो सदनमा बहुमत गुमायो। यो निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत हात पार्न सकेनन्।

एलडीपीले १९१ सीट र सबैभन्दा ठूलो विपक्षी दल सीडीपीले १४८ सीट जितेका छन्।

प्रधानमन्त्री शिगेरु इशिबाले निर्वाचन परिणामलाई जनताको “कडा फैसला” भनेका छन्।

जापानमा दोस्रो विश्वयुद्धपछिको समयदेखि नै एलडीपी संसारको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा अधिकांश समय सरकारको नेतृत्वमा थियो।

सन् १९९३ र २००९ दुई पटक सत्तामा पुगेको भए पनि विपक्षी दलको सत्ताबाट नराम्ररी बहिर्गमन भयो। एलडीपी सन् २०१२ मा पुनः सत्तामा फर्किएको थियो।बीबीसी

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ५ : ५९ बजे