भक्तपुर–
छुट्टा छुट्टै सवारी दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यसैगरी गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना६त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरिले जनाएको छ ।








