काठमाडौं । चीनको तिब्बतमा शक्तिशाली भूकम्पबाट प्रभावित स्थानमा जारी खोजीमा सहभागी हुन १४,००० भन्दा बढी उद्धारकर्मी पुगेका छन्।
मङ्गलवार बिहान गएको भूकम्पका कारण त्यहाँ सयौँ घर भत्किएका र कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको छ।
भूकम्पले सयौँ घर भत्काउँदा धेरै मानिस पुरिएको आशङ्का गरिएको छ। तर त्यस्ता मानिसको सङ्ख्या स्पष्ट हुन सकेको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ४०० जनाभन्दा बढीको उद्धार गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ। एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहन्छ।
बुधवार चीनका उपप्रधानमन्त्री जाङ ग्वचिङ उद्धारकार्यको निरीक्षण गर्न तिब्बत पुगे।
राष्ट्रपति सी जिन्पिङले हताहत हुने मानिसको सङ्ख्या बढ्न नदिन प्रभावकारी उद्धार र राहतका लागि आवश्यक सबै कार्य गर्न मङ्गलवार निर्देशन दिएका थिए। चिनियाँ सेनाले उद्धारकर्ताहरूलाई सघाउन ड्रोनहरू प्रयोग गरेको छ।
तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन्। अहिलेसम्म प्राप्त अधिकांश सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो।
शिगात्सेको जनसङ्ख्या झन्डै आठ लाख छ। अमेरिकी भौगर्मिक सर्वेक्षण निकायका अनुसार उक्त भूकम्प ७।१ म्याग्निट्यूडको थियो र जमिनभन्दा १० किलोमिटर तल उत्पन्न भएको थियो। भूकम्प नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो।
शक्तिशाली भूकम्प गएको २४ घण्टाको अवधिमा तिब्बतमा ५०० वटाभन्दा बढी परकम्प मापन गरिएको अधिकारीहरूले बताएका छन्।
उक्त भूकम्पका कारण केन्द्रबिन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन १।६ मिटरसम्म तल भासिएको दाबी गरिएको छ।
भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीलाई बताएअनुसार म्याग्निट्यूड ५ सम्मको अर्को भूकम्प जान सक्छ। ूतर ठूलो भूकम्प जाने सम्भावना न्यून छ। बीबीसि बाट














