सन्तोषी महत आत्महत्या प्रकरणः इन्सपेक्टर विवेक जोशी नियन्त्रणमा



काठमाडौँ – सशस्त्र प्रहरी बल ९एपीएफ० की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन्।

आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि अनुनसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो।

गत शनिबार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । जोशीले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ । उनीहरू प्रेम सम्बन्धमा रहेको बुझिएको छ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको थियो ।

सिन्धुपाल्चोक घर भएकी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार  ११ : ०० बजे