प्रयागराजको महाकुम्भ मेला सकियो : ६६ करोडभन्दा बढी सहभागी



नयाँ दिल्ली – जनवरी १३ देखि फेब्रुअरी २६ सम्म चलेको महाकुम्भमा कीर्तिमानी ६६.७० करोड मानिसले डुबुल्की लिएका समाचारहरू आएका छन्। जुन अमेरिकाको जनसंख्याको दोब्बर (३४ करोड) भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले विश्वको आधा हिन्दु जनसंख्या महाकुम्भमा पुगेका दाबी गरेको छ।

अन्तिम दिन हिजो १ करोड ५३ लाख मानिसले महाकुम्भ स्नान गरेका थिए ।

महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भई पूण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ।

यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतीका रूपमा रहेको थियो। मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तीमा ३० जनाले ज्यान गुमाएका थिए भने अन्य ६० जना घाइते भएका थिए।

यस्तै महाकुम्भ मेला भर्न जान प्रयागराज जाने विशेष रेल चढ्ने क्रममा भएको धकेला–धकेलमा दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५ मा कम्तीमा १८ जनाको मृत्यु भएको थियो।

यसबाहेक पनि ओहोरदोहोरका क्रममा कैयौँ मानिसको मृत्यु भएको थियो। नेपालबाट गएका केही व्यक्तिहरूले पनि मृत्युवरण गर्नुपरेको थियो।

प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार  ९ : २६ बजे