बुटवल– नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण रुपन्देहीको भैरहवामा सुरु हुँदैछ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि मंगलबार हुने प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी हुँदैछन्।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने नेपाली कांग्रेस रुपन्देही १ का क्षेत्रीय सभापति हिरा खत्रीले जानकारी दिए।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा लगायत नेताहरु सहभागी हुने खत्रीले बताए।
धेरैजसो नेताहरु शनिबार नै रुपन्देही आइसकेका छन्। सभापति देउवा, नेतृ आरजु देउवा राणा आज बिहान ९ बजेको उडानबाट भैरहवा आइपुग्ने कार्यक्रम रहेको कांग्रेस नेताहरुले बताएका छन्।
पोखरामा भएको कार्यक्रममा निम्तो नै नदिइएको शेखरलाई यसपटक भने निम्तो दिइएको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।
‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एकजना कर्मचारीले टेलिफोन गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदे सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यसै पनि उहाँको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेको छ। उहाँ भैरहवाको कार्यक्रममा जानुहुँदैन।’
थपलियाका अनुसार कोइराला आजै विराटनगर जाँदैछन्। उनी विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेको उनले जानकारी दिए। भोलि पनि विराटनगरमै केही कार्यक्रमहरु तय भएको थपलियाको भनाइ छ।














