बजेट आउनुभन्दा एक महिनाअघि प्रिबजेट छलफल सक्नुपर्ने, अध्यादेश पारित



काठमाडौं । बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने भएको छ। उक्त व्यवस्था गरिएको अध्यादेश प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएपछि यो व्यवस्था कार्यान्वयन हुने अवस्था सिर्जना भएको हो।

सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो। बुधबार अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो।

प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने व्यवस्था छ। प्रतिनिधि सभाबाट पारित भएको अध्यादेशअनुसार अब वैशाख १५ गतेभन्दा अघि नै प्रि(बजेट छलफल सक्नुपर्ने व्यवस्था लागू हुने देखिएको छ।

यसअघिको सरकारले बजेट आउनुभन्दा तीन महिना अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने प्रावधान सहितको अध्यादेश ल्याएको थियो। त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो।

अब यो अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ५ : ०७ बजे