काठमाडौं–
काठ्माण्डौका बिभिन्न बैङ्कहरुको एटिएम ह्याक गरेर रकम चोरी गर्ने थप एक जना चिनिया नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा ३६ वर्षीय चिनिया नागरिक सु लुसली छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट गएराति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी गराए ।
यसअघि शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन रहेका छन्। उनीहरुलाई बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
एटिएम बुथमा शंकास्पद गतिविधि गरेको भनी बैंकबाट आएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका थिए। आठ जना चिनियाँ नागरिकले उपकरण प्रयोग गरी आधा दर्जन बैंकको एटिएम बुथबाट पौने दुई करोड रुपैयाँ निकालेका थिए।








