काठमाडौं –
हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको चिनियाँ चलचित्र महोत्सव यस वर्ष आगामी भाद्र ३१ गते मंगलबारदेखि सुरु हुँदैछ।
नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ।जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा यसपालि ६ वटा चिनियाँ चलचित्र प्रदर्शन गरिने भएको वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी गराए । रिमालका अनुसार महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर ’, दाँते लाम निर्देशित ‘ अपरेसन मेकङ ’, जँ ज्याक्युज अनौद निर्देशित ‘ वुल्फ टोटेम ’, लेस्त चेन निर्देशित ‘ ब्याटल अफ मेमोरिज ’, हान यान निर्देशित ‘ गो अवे मिस्टर ट्युमर ’ र हाइ चोङ निर्देशित ‘ रनिङ लाईक विन्ड ’ प्रदर्शन गरिनेछ।
हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निशुल्क हुने र पासका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ।










