काठमाडौँ । एसियाले देशमा फेरि कोभिड-१९ संक्रमण बढ्न थालेको छ। एसियाली देशहरू सिंगापुर, थाइल्यान्ड, चीन र भारतमा कोभिड संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्न थालेको हो।
हङकङमा कोरोना संक्रमित हुने दर ११.४ प्रतिशत पुगेको छ। मे ३ मा हङकङले ३१ जना संक्रमितहरू गम्भीर बनेको रिपोर्ट गरेको थियो। यो पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको ब्लुमबर्गले उल्लेख गरेको छ।
सिङ्गापुरमा एक सातामै १४ हजारभन्दा बढी संक्रमित पुगेका छन्। संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्यामा करिब ३० प्रतिशतले वृद्धि भएको छ। पछिल्लो समय एलएफ-७ र एनबी-१.८ भेरियन्टको संक्रमण बढ्न थालेको छ।
थाइल्यान्डमा एक सातामा नै संक्रमितहरुको संख्या ३३ हजारभन्दा बढी पुगेको छ। अघिल्लो साताको तुलनामा यो दोब्बर हो।
यो पटक ३० देखि ३९ वर्ष उमेर समूहमाका व्यक्ति बढी प्रभावित भएका छन्। फेरि कोभिड बढ्न सक्ने भन्दै थाई जनस्वास्थ्य अधिकारीहरूले उच्च जोखिम समूहका व्यक्तिहरूलाई बुस्टर खोप लगाउन आग्रह गरेका छन्।
चीनमाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार कोभिड संक्रमित हुने दर १६.२ प्रतिशत पुगेको बताएको छ। अचानक संक्रमितको दर वृद्धि भएपछि सतर्क रहन सेन्टरले अनुरोध गरेको छ।
भारतमा पनि कोभिडका केस बढ्न थालेका छन्। भारतको स्वास्थ्य मन्त्रालयले एसियाली देशमा बढेको कोभिड संक्रमणको दरलाई नजिकबाट नियालीरहेको उल्लेख गरेको छ। भारतमा हालै केरला, महाराष्ट्र र तमिलनाडुमा नयाँ केसहरूको संख्या बढ्न थालेको छ। केरलामा मे १२ यता सबैभन्दा बढी ६९ नयाँ संक्रमित भेटिएको रिपोर्ट गरिएको छन्। महाराष्ट्रमा मे १२ यता ४४ नयाँ संक्रमित रिपोर्ट भएका छन्। मुम्बईमा दुई जनाको मृत्यु भएको खबर आए पनि अस्पतालका अधिकारीहरूले उनीहरूको मृत्यु कोभिड-१९ का कारण नभई अन्य रोगका कारण भएको स्पष्ट पारेका छन्। तमिलनाडुमा मे १२ यता ३४ नयाँ संक्रमित भेटिएको रिपोर्ट गरिएको छ।
एसियामा कोभिड-१९ केसहरूको वृद्धिको पछाडि मुख्य कारण जेएन १ भेरियन्ट भएको बताइएको छ। यो ओमिक्रोन समूहको उप-समूहमा पर्ने भाइरस हो। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘चासोको भेरियन्ट’ भनेको छ तर ‘चिन्ताको भेरियन्ट’ भनिहाल्ने अवस्था नआएको उल्लेख गरेको छ। ओमिक्रोन भेरियन्ट जस्तै जेएन-१ भेरियन्टले गम्भीर बनाउन अवस्था नदेखिएको बताइएको छ ।










