सिटौलाले भने- कर्मचारीको गल्तीमा मन्त्रीको राजीनामा माग्नु गलत



काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्रालय अन्तर्गतको एक कर्मचारीको गल्तीका आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको टिप्पणी गरेका छन्।

आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो मागले गलत नजिर स्थापित गर्ने खतरा रहेको बताए।

‘विगतमा जब मन्त्रीमाथि नै आरोप लाग्थ्यो, तब राजीनामाको कुरा उठ्थ्यो,’ उनले भने, ‘तर अहिलेको अवस्थामा अध्यागमन विभागका कर्मचारीमाथि मात्रै आरोप लागेको छ र अख्तियारले छानबिन गरिरहेको छ। त्यसैले केही समय पर्खिनुपर्छ। कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिएर राज्यव्यवस्था चल्दैन।’

यसअघि शनिबार कांग्रेस नेता डा। शेखर कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए।

पत्रकारहरूसँगको कुराकानीमा नेता सिटौलाले हिन्दु राष्ट्र वा संवैधानिक राजसंस्था विषयमा जनमत संग्रह आवश्यक नरहेको उल्लेख गरे। उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई समिक्षा गरेर अझ परिष्कृत र परिमार्जित गर्नुपर्नेमा जोड दिए।

‘राजसंस्था अब कुनै हालतमा फर्किन सक्दैन,’ सिटौलाले स्पष्ट पारे, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पनि आवश्यक छैन। नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था हो।’

सिटौलाले कांग्रेसको आगामी महाधिवेशन २०८२ को मंसिरमा सम्भव नहुने बताउँदै २०८३ सालको दशैं आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार  १२ : १४ बजे