१० दिन चीन घुमेर फर्किइन् पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन्। चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन गएकी उनी सोमवार बिहान साढे १० बजेतिर स्वदेश फर्किएकी हुन्।

उनीसँगै चीन भ्रमणमा गएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक र फलदायी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताए।

‘भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ,’ मन्त्री भण्डारीले भने, ‘नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमूलक भयो।’

भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ‘एमाले’को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको बताए।

पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताए। चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गरेका थिए।

यही जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत चीन भ्रमणमा गएका थिए।

पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गरेकी थिइन्।

प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार  २ : ५६ बजे