भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु




काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आइतवार बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ। हेलिकोप्टरमा चालकसहितका सातै जनाको मृत्यु भएको एनडीटीभीको समाचारमा उल्लेख छ।

केदारनाथ गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो। देहरादूनबाट केदारनाथ जाँदै गरेको अवस्थामा हेलिकोप्टर दुर्घटनामा परेको हो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनामा पाइलटसहित सातै जनाको मृत्यु भएको बताएका छन्।

यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो। पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपत्कालीन अवतरण गराएका थिए।

यसक्रममा हेलिकोप्टरको पछाडिको भाग कारसँग ठोक्किन पुगेको थियो। उक्त दुर्घटनामा पाइलटको ढाडमा चोट लाग्नुबाहेक मानवीय क्षति भएको थिएन। हेलिकोप्टरमा पाइलटसहित ५ जना सवार थिए।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  १० : २६ बजे