कृषि र सहकारीको माध्यमबाटै प्रदेश २ समृद्ध बन्छ : मन्त्री यादव



सोम दियाली,सर्लाही-

प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले कृषि र सहकारीको माध्यमबाटै प्रदेश २ समृद्ध हुने बताउनु भएको छ ।

शनिवार ईश्वरपुर नगपालिका ६ बयलवासमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश २ मा रहेका सहकारीहरुको विकासमा प्रदेश २ सरकार जोडतोडका साथ लागेको बताउनु भयो । उहाँले अझै पनि प्रदेश २ मा झोले सहकारीहरु सक्रिय रहेको भन्दै त्यस्ता सहकारीलाई निरुत्साहित गर्न प्रदेश सरकारले सहकारी निति ल्याउन लागेको बताउनु भयो । सहकारीले सामान्य नागरीकको जीवन स्तर उकास्न काम गर्नुको सट्टा खाली अनुदानको लागि मन्त्री भेट्ने र मन्त्रालय धाउने मात्रै गरेको भन्दै त्यस्ता सहकारीलाई तह लगाउन र असल सहकारीलाई प्रोत्साहन गर्न प्रदेश सरकार लागि परेको बताउनु भयो ।

 

संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री यादवले स्वस्तिक सहकारीमा महिलाहरुको उत्साहजनक सहभागिता पाएकोमा खुशि लागेको बताउनु भयो । उहाँले महिलाहरुको सहभागितामा भएका सवै कार्य सफल भएको भन्दै स्वस्तिक वचत तथा ऋण सहकारी संस्था पनि सफल हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । सोही प्रसंगमा उहाँले प्रदेश २ सरकारले कृषिमा भएको मलखाद तथा अनुदानमा विचौलियाहरु हावी भएको भन्दै वास्तविक किसान पहिचान गरी सिधैं किसानको खातामा १०-१० हजार अनुदान पठाउने व्यवस्था प्रदेश सरकारले गर्न लागेको सुनाउनु भयो । त्यस्तै प्रदेश सरकारले सुरु गरेको वेची पढाउ, वेटी बचाउ अभियानलाई सफल बनाउन समेत उहाँले सवैलाई आग्रह गनु भयो ।

साधारण सभामा ईश्वरपुर नगरपालिकाकी उपमेयर एकावती चौधरीको समेत उपस्थिती रहेको थियो । सभामा अध्यक्ष बेनी बहादुर कार्कीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष विष्णुहरी मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा लेखा समिति संयोजक वेचु प्रसाद तिमल्सिनाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

७३२ महिला र ८६७ पुरुष गरी कुल १ हजार ५९९ शेयर सदस्य रहेको संस्थाले १९औं साधारण सभाका अवसरमा एकल महिला पुरुष गरी ३५ जनालाई सम्मान गरेको छ । त्यस्तै ५ जना जेष्ठ नागरीक, अपांगता भएका व्यक्ति, असल ऋणी, वचत कर्ता लगायतलाई सम्मान गरेको कार्यक्रम संचालक एवं संस्थाका ऋण अधिकृत विनोद थापाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ३ : १४ बजे