कुलिङ पिरियड विवादले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित



काठमाडौँ । कुलिङ पिरियडमा चलखेल भएपछि नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन्।

कुलिङ पिरियडमा चलखेल भएको विषयमा छानबिन नभएसम्म समितिको बैठकमा सहभागी नहुने भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्।

तीन दलका सांसदहरूले बैठक बहिष्कार गरेपछि प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो।

मंगलवार बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद पदम गिरीले समिति र सदनले पारित गरेको प्रतिवेदनमा चलखेल गरी ‘बाहेक’शब्द घुसाएर संसद्को गरिमालाई धूलिसाथ बनाउने काम भएकाले संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा हेरफेर भएकाले छानबिन र षडयन्त्र गर्नेलाई कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने बताए।

‘कहाँबाट त्रुटी भएको हो। जोबाट भएको छ निर्मम कारबाही हुनुपर्छ। गम्भीर छानबिन हुनुपर्छ, यसलाई स्वीकार्य हुँदैन। समितिको छलफलका क्रममा कसैले कुलिङ पिरियड राख्नुहुँदैन, ६ महिना वा १ वर्ष वा २ वर्ष प्रस्ताव राखियो होला तर समितिबाट निष्कर्षमा पुगेपछि जे सहमति भएको हो त्यो जस्ताको तस्तै संसदमा पेश हुने र पारित हुनुपर्थ्यो,’ गिरीले थपे, ‘यहाँ गम्भीर षडयन्त्र भएको छ। भोलिका दिनमा छानबिन गरेपछि टुंगो लाग्छ। यो छानबिन नभएसम्म राज्य व्यवस्था समितिको बैठक बस्न सक्दैन। जो(जो जिम्मेवार हुनुहुन्छ नैतिकताका आधारमा ठाउँ छोड्नुपर्छ। कारबाही भोग्नुपर्छ।’

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पनि छानबिन नभएसम्म राज्यव्यवस्था समितिको बैठक नबस्ने जनाए। समितिका सदस्यले राज्य व्यवस्था समितिका सभापति र सचिवलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। संघीय निजामती विधेयकमा समितिले पारित गरेको कुलिङ पिरियडको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले अन्तिम समयमा बैठक स्थगित गरेका हुन्।

खतिवडाले संघीय निजामति विधेयकमा राखिएको ‘कुलिङ पिरियड’मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्।

कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए। ‘एउटा दफा थपिएर सदनमा गएको फेला पारेका छौं। यो कसको गल्तीबाट भयो त्यसलाई कानुनको दायरामा ल्याउँछौं,’ उनले भने, ‘आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिको बदनाम हुने काम भएको छ। मेरो कमजोरी देखिए म कारवाही भोग्न तयार छु। जसले कमजोरी गर्छ यसले कारवाही भोग्नु पनि पर्छ। जु्नसुकै व्यक्ति होस् छानबिनको दायरामा ल्याउनुपर्छ।’

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  १ : ०२ बजे