रामहरि खतिवडा र सुरज दुराले राजीनामा गर्नुपर्ने सांसदहरूको माग,छानबिन समिति बनाउन प्रस्ताब



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नै संघीय निजामती सेवा विद्येयकका सम्बन्धमा मनपरी गरेको आरोप लगाएका छन् । आज (बुधबार) बसेको समितिको आकस्मिक बैठकमा बोल्दै उनले सभापति खतिवडालाई कसको दबाबमा यस्तो चलखेल गर्नुभयो ? भनेर कडा प्रश्न राखेका थिए ।

उनले यसरी विद्येयकमाथि चलखेल गर्दाको कोर टिममा को को छन् भनेर सार्वजनिक गर्नसमेत सभापति खतिवडालाई आग्रह गरे । उनले भने,‘सभापतिजी, तपाईंको कोर टिम को हो रु आज भनिदिनुहोस, तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ उनले सचिवलाई नपढी हस्तक्षर गरेको हो भन्दै सोधेका छन् । उनले भने,‘तपाईंले नपढीकन सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो ? दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’

आजकै बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखे ।

अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ । सभापति र सचिवले राजीनामा दिनुपर्छ, बुधबार समितिको बैठकमा समितिका सदस्य घिमिरेले भने ।

एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे ।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  १ : १८ बजे