पत्रकार दिलभुषण पाठक अदालतमा उपस्थित



काठमाडौँ । पत्रकार दिलभुषण पाठक जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् । बिहीबार बिहान साढे ९ बजे नै उनी अदालतमा उपस्थित भएका हुन् ।

उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार अदालतमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो । पाठकको युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) पैसा’ शीर्षकमा समाचार सार्वजनिक भएपछि उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी परेको थियो । साइबर ब्युरो ५९ नामको नाम परिवर्तित व्यक्तिले दायर गरेको जाहेरीमा निवेदकले आफ्नो तस्बिरका साथमा उक्त सामग्री प्रकाशन गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको दाबी गरेका थिए ।

यसअघि प्रहरीले उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गर्ने तयारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध पाठक उच्च अदालत पाटन पुगेकोमा अदालतबाट धरकपड नगर्न आदेश भएको थियो ।

बिहीबार अदालतमा उपस्थित भएपछि अब उनको बयान हुनेछ । बयानपछि आजै थुनछेक हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : असार १९, २०८२ बिहीबार  १० : ४४ बजे