काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयकमा भएको गडबढीका विषयमा छानबिन गर्न संसदीय विशेष समिति घोषणा गर्ने तयारी गरेको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथिको प्रतिवेदन पारित गर्दा दुई वर्ष ‘कुलिङ पिरियड’को व्यवस्था गरेको तर प्रतिनिधि सभाबाट पारित हुँदा निष्क्रिय पार्ने व्यवस्था थप भएको विषयमा छानबिन गर्नका लागि समिति बनाउन लागिएको हो।
दुई वर्षे कुलिङ पिरियडलाई निष्क्रिय गराउने व्यवस्थासमेतको विधेयक पारित भएपछि राजनीतिक तरंग पैदा भएको थियो। सांसदहरूले त्यसको व्यवस्था राज्य व्यवस्था तथा सुशासन समिति र समितिका सभापति रामहरि खतिवडाले गडबढीको जिम्मा लिनुपर्ने बताएका थिए।
यसपछि खतिवडाले समितिका सांसदहरूलाई लिएर सभामुखसँग भेट गरी विधेयकमा कुलिङ पिरियड राख्ने व्यवस्था गर्न र उक्त विषयमा छानबिन समिति बनाउन आग्रह गरेका थिए।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको सोमवारको बैठकमा छानबिन समिति गठन गरिएको जानकारी गराउने तयारी गरेका छन्।
असार २१ गते सभामुख घिमिरे र दलका नेताहरुको छलफलले कुलिङ पिरियडमा भएको गडबढी छानबिन गर्नका लागि विशेष समिति बनाउने सहमति गरेको थियो।
छलफलमा सहभागी भएका एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट २र२ सदस्य तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट १र१ जना सदस्य रहने सहमति छ। समितिमा रहने सभापति र सदस्यहरूको नामावली सोमवार सभामुखले प्रतिनिधि सभा बैठकमा नै घोषणा गर्ने तयारी गरेका छन्।
समितिले विधेयकमा हेरफेर गर्नेलाई कारबाही सिफारिस गर्नेछ। साथै यस्ता घटना भविष्यमा दोहोरिन नदिने उपायबारे समेत सुझावसमेत दिने कार्यादेश पाउने भएको छ। यद्यपि कार्यदेशको औपचारिक विवतर सार्वजनिक भएको छैन।
यसैबीच, आजै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए। स्पेन भ्रमणबाट फर्कँदा विमानस्थलमा पत्रकारहरूसँग साक्षात्कार नगरेपछि उक्त विषयमा विभिन्न टीकाटिप्पणी भएका थिए।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।