काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो।
एमालेको पोलिटब्युरो बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विद्या भण्डारीको पार्टी सदस्यता पेन्डिङमा रहेको बताएका थिए। त्यसको भोलिपल्टै विद्या एमाले कार्यालय जाने भएकी हुन्।
नेताहरूले विवाद मिलाउन अध्यक्षसमेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।
यसअघि अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताएका थिए।
एमाले केन्द्रीय कमिटी बैठक बस्नुअघि विद्या ओलीलाई भेट्न पार्टी कार्यालय जाने भएकी हुन्। सोमबार एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।









