अनशनरत मेयर तीर्थराज भट्टराई वीर अस्पतालमा भर्ना



काठमाडौँ । अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि मेयर तिर्थराज भट्टराईलाई हिजो राति साढे ११ बजे अस्पताल भर्ना गरिएको हो ।

साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनशन सुरू गरेका भट्टराईले तीन दिनको अल्टिमेटम दिएका थिए। तर, तीन दिनमा पनि माग पूरा नभएपछि मंगलबारबाट भने आमरण अनशन सुरु गरेका हुन्।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उनले अनशन शुरु गरेका हुन्। माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनी अनशनरत छन्।

अनशनको चौथो दिन स्वास्थ्यमा समस्या देखिएपछि मेयर भट्टराईलाई बुधबार राती साढे ११ बजे वीर अस्पतालमा भर्ना गरिएको थियो। उनलाई रक्तचाप, रगतमा चिनीको मात्रा काम र चक्कर आउनेजस्ता समस्या देखिएका छन्।

राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरुलाई डिस्चार्ज गरिदिन माग गरेका थिए। आफू माइतीघरमै आमरण अनसन बस्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेका छैनन् ।

प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार  १ : ५२ बजे