हिजो कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता आजै खारेज



काठमाडौं ।बिहीबार मात्रै पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता नेपाली कांग्रेसले खारेज गरेको छ ।

उनी फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको जानकारी पाएपछि उनको सदस्यता खारेज गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“हिजो बिहीबार विहान ९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रकृया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।साथै, कानूनी कारवाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ । निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरुसँग यस बारे गम्भीरतापूर्वक जानकारी लिइंदै गरेको समेत जानकारी गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पार्टी नेताहरूले गरेको आग्रहबमोजिम सभापति देउवाले पार्टी सदस्यता दिएको पनि दाबी गरिएको छ ।

यादवलाई सभापति शेरबहादुर देउवाले बिहिबार मात्रै हिजो पार्टी सदस्यता दिएका थिए ।

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  ७ : ५४ बजे