उखु किसानका मागहरु सम्बोधन गर्न एमाले सांसद महतोद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका मागहरु सम्बोधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हून् ।

उनले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन समेत सरकारसँग माग गरिन् ।

उनले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न समेत माग गरिन् ।

उनले सरकारलाई किसानमैत्री अनुदान, सिंचाई सुविधा र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन आग्रह गरिन् ।

उनले चुरे संरक्षणमा भएको लापरवाहीका कारण मधेशमा ठूलो समस्या उत्पन्न भएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्नेमा जोड दिईन् ।

उनले भनिन् , ‘उखु किसानको पीडा सरकारले अबमूल्यन गर्न मिल्दैन । उखुको मूल्य राख्दा किसानको लागत र मेहेनतलाई प्राथमिकतामा राखेर अनुदान र वितरणको ढिलाई र अपारदर्शीताको कमीका कारण किसानहरु असन्तुष्ट भएका छन् । उखु किसानको समस्या सरकारले समाधान गरोस् । सधैंजसो आफ्नो पसिनाको मूल्यका लागि सडकमा पुग्नुपर्ने बाध्यताको अन्त्य होस् । किसालाई धोका होइन, संरक्षण चाहिन्छ । किसानहरुको समस्या सुन्ने र समाधान गर्ने संस्कारको विकास गर्नुपर्छ । अनिमात्रै समृद्धिको सपना पूरा हुन्छ सभामुख महोदय । त्यसैले किसानमैत्री अनुदान, सिंचाई र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । चुरे संरक्षणमा गरेको लापरवाहीकै कारण आज मधेशले ठुलो समस्या भोग्नु परिरहेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण राष्ट्रिय हित र सार्वभौमिकताका सवालमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरिन् । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र १८, २०८२ बुधबार  ३ : ०७ बजे