अर्थमन्त्रीले कार्यदल बनाएपछि सेयर बजारमा उछाल, नेप्से सूचक १११ अंकले बढ्यो



काठमाडौं। जेन्जी आन्दोलन समाप्तिपछि गत साता बिहीबार खुलेको सेयर बजारमा १६० अंकको भारी गिरावट आयो। बिहीबार तीन पटक नकरात्मक सर्किट लागेर सेयर बजार बन्द भयो।

लगानीकर्ताले विश्वास गुमाउँदा बिहीबार सेयर बजारमा ठूलो पहिरो गयो। सेयर बजार घट्नलाई रोक्न शुक्रबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै सेयर लगानीकर्ताको मनोबल उकास्नलाई चाल्नुपर्ने कदमबारे सुझाव दिन मन्त्रिस्तरिय निर्णय गरी एक कार्यदल गठन गरेका छन्।

अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदललाई अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पाँच दिनको सयम पाएको छ। सुधारका लागि शुक्रबार कार्यदल गठन गरेपछि आइतबार सेयर बजारले सेन्चुरी पार गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ११६ अंक बढेर २६ सय २७.९३ मा पुगेको छ। आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको दुई करोड बढी कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। बजारमा हरियाली छाउँदा २२४ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घटेको छ।

आइतबार लगानीकर्ताहरु दुई पुनर्बिमा कम्पनीमा झुम्मिएका छन्। नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ८३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ४८ करोड २६ लाख र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ३० करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आइतबार नौ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। सकरात्मक सर्किट लाग्ने कम्पनीहरुमा सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, गुडविल फाइनान्स, शिवम् सिमेन्ट लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलगायत नौ कम्पनी रहेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स म्युचलअ फन्ड–२ का लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित मिति : आश्विन ५, २०८२ आईतबार  ४ : १८ बजे