कतारमा दुई महिनादेखि खोटाङका पाँच युवा अलपत्र



खोटाङ,

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करण बहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् ।

छ महिनाअघि कतारको राजधानी दोहा स्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एन्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरूलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए । “चार महिनासम्म लेबरको काम लगायो”, उनले भने, “कम्पनीले सम्झौता विपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।”

काठमाडौँको धुम्बाराहीस्थित टाइगर ओभरसिस म्यानपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरू कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । “इलेक्ट्रिसियनको काम भनेर म्यानपावर कम्पनीले सम्झौता पत्र देखाएपछि मैले नै सबै जनाको धरौटीबापतको रकम बुझाएको थिएँ”, उनले भने, “कतार पु¥याएपछि चार महिना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरूले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।”

चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहा स्थित लेबर कोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र सुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन उनीहरूले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरूलाई कतार पठाउने धुम्बाराहीस्थित टाइगर ओभरसिस म्यानपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । “विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महिनापछि जेठ २३ गते उडायो”, उनले भने, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।”

उता म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द सिवाकोटीले भने उनीहरूले बिना कारण काम छाडेर बसेको बताएका छन् । “उनीहरूले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्”, उनले भने, “अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।” टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि सो म्यानपावर कम्पनीले उनीहरूलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसै गरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।

प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार  १० : ४७ बजे