लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो



काठमाडौँ, १९ कात्तिक-

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका छन् ।संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज  आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष २०७५(०७६ को प्रतिवेदन पेश गरेको हो । सो अवसरमा आयोगका सदस्यसमेतको उपस्थिति रहेको थियो । आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । सो अवसरमा आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने बताए ।

प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।

यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  ८ : २८ बजे