भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री  वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारेका छन् ।

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताए ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको बताए ।

रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको उनको भनाइ छ । उनकाअनुसार यि मानवीय र प्राविधिक विषय मात्रै हुन् ।उनकाअनुसार यि मानवीय र प्राविधिक विषय मात्रै हुन् । उनले अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गरे । सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको उल्लेख गर्दै उहाँले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गरे ।

उनले भने, ‘गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको मात्र हो । विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको छ, जुन विशुद्ध मानवीय र प्राविधिक विषय हो ।हप्ताभरि पत्रिकाहरूले यसलाई उचालेर भ्रम सिर्जना गरे, जसका कारण सम्मानित सांसदहरूमा समेत संशय पैदा भएको देखिन्छ । तर वास्तविकता त्यस्तो होइन । ४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पानाको संख्या बढेर ५०० पुग्न सक्छ वा घटाउँदा घट्न सक्छ । कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन । त्रुटिसहित यहाँहरूको हातमा परेपछि हामीले एउटा थोप्लो पनि चलाएका छैनौँ । आम जनतालाई केही समय भ्रमित पार्न सकिएला, तर सत्य लुक्दैन ।’

प्रकाशित मिति : जेष्ठ २७, २०८३ बुधबार  १० : १८ बजे