आज सातै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै



काठमाडौं, असार १ । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्दैछन्।

आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो।

विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन्। सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन्।

प्रकाशित मिति : असार १, २०८३ सोमबार  १० : ०९ बजे