निगमले शनिबार बेच्यो ६ हजार सिलिन्डर, आइतबार काठमाडौँका यी ठाउँबाट हुदैछ ग्यास बिक्री



काठमाडौँ। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा ग्यास बिक्री वितरणलाई निरन्तरता दिएको छ ।

शनिबार काठमाडौँ उपत्यकाका पाँच ओटा स्थानबाट शुरू गरेको निगमले आइतबार सात ठाउँबाट बिक्री वितरण गर्ने निगमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

ग्यास उद्योग तथा डिपोहरूको सहकार्यमा टेकुस्थित नेपाल आयल निगम परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट बिक्री वितरण गर्ने निगमले जनाएको छ ।

बिहान ११ देखि साँझ ५ बजेसम्म ग्यास वितरण गर्ने पनि निगमले जनाएको छ ।

यसअघि निगमले वितरण शुरू गरेसँगै शनिबार ग्यास लिन बिहानैदेखि सर्वसाधारणको निकै ठूलो भीड लागेको थियो। बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता उपस्थित भएका थिए। तर, विभिन्न स्थानबाट ग्यास वितरण गरिए पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।

लामो समयसम्म लाइन बस्दा पनि वितरण गर्ने स्थानमा समयमै ग्यास उपलब्ध नहुँदा दिनभर कुरेर बस्नुपरेको उपभोक्ताको भनाइ छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन अनुगमन तीव्र पारिएको निगमले जनाएको छ।

साथै, अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित हुन आग्रह गर्दै निगमले ग्यास लिन आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम लागू गरेको छ।

शनिबार ६ हजार ८ सय २ ओटा सिलिन्डर बिक्री गरेको पनि निगमले जनाएको छ

प्रकाशित मिति : श्रावण ३०, २०८३ शनिबार  ९ : २० बजे