भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा पुनरुत्थान प्याकेज घोषणा



काठमाडौं । सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूका लागि विशेष ‘व्यवसाय पुनरुत्थान प्याकेज’ घोषणा गरेको छ ।

अर्थ मन्त्रालयको प्रश्तावमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रका उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी कर छुट, महशुल सहुलियत तथा ऋण सुविधासहितको राहत कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

भन्सार विभागमार्फत कार्यान्वयन हुनेगरी बाढीका कारण क्षतिग्रस्त वा हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी पुनः आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महशुल छुट दिने निर्णय गरिएको छ ।

त्यसैगरी, पूर्ण रूपमा नष्ट भएका प्लाण्ट, मेशिनरी तथा यन्त्र उपकरणहरूको पैठारीमा समेत शतप्रतिशत भन्सार महशुल मिनाहा गरिनेछ ।

तेस्तै बाढीका कारण क्षति भएको व्यावसायिक सम्पत्तिमा तिरेको मूल्य अभिवृद्धि करको दाबी समायोजन प्रक्रियालाई सरलीकृत गर्ने र बाढीको कारण पूर्ण रूपमा क्षति भएको व्यावसायिक सम्पत्तिको मूल्यलाई कर प्रयोजनका लागि एकमुष्ठ खर्चकट्टी गर्न सक्ने व्यवस्था मिलाउने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  ८ : ३९ बजे