काठमाडौँ । मातृका यादवले आफूलाई मन्त्रीबाट हटाएकोमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् ।
आइतबारदेखि जारी नेकपाको स्थायी समितिमा बुधबार बोल्दै उनले मन्त्रीबाट हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले आफूमाथि ‘न्याय’ गरेको भन्दै व्यङ्ग गरे। यादवले आफूलाई पहिलेदेखि नै मन्त्रीपदमा बस्न मन नभएको र हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले धेरै राम्रो गरेको बताए।
मंसिर ४ गते भएको मन्त्रिपरिषद् पुनगर्ठनमा तत्कालीन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री यादवसहित पाँच मन्त्रीको पद गएको थियो।
अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि बुधवार आफ्नो धारणा राख्दै उनले प्रचण्डपथ ब्युत्याउन पनि माग गरे। ‘पार्टीको मार्गदर्शक सिद्धान्त प्रचण्डपथ नहुँदा नेकपामा भद्रगोल भएको छ,’ उनले बैठकमा भने।
तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको २१औं शताब्दीको जनवाद थाती राखेर नेकपाले ‘पार्टीको रणनीतिक लक्ष्य र आधाभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालीन कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद’ बनाएकै बेला नेता यादवले भने प्रचण्डपथ ब्युताउँन माग गरेका हुन्। तत्कालीन माओवादीले २०५७ मा प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो। ०६५ मा तत्कालीन एकता केन्द्रसँग पार्टी एकता गरेपछि यसलाई पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गरेको थियो।
यादवले पार्टी नेतृत्वमा कहिलेकाहीं आत्मकेन्द्रित व्यक्तिवाद हावी हुने गरेको भन्दै त्यस्तो सोचले आफैं विचारको विकास गर्न नसक्ने र अरुले गरेको विकासलाई पनि स्वीकार गर्न नसक्ने बताए।
कान्तिपुरबाट










