भद्रकाली दर्शनमा पुगेका भक्तजनहरू भन्छन् : परिवारको सुख र देशमा शान्तिको कामना गरेका छौं



काठमाडौं। बडादशैंको नवरात्र सुरु भएसँगै काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न प्रसिद्ध शक्तिपीठहरूमा पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको बाक्लो घुइँचो लागेको छ।

काठमाडौँस्थित मुख्य शक्तिपीठहरूमध्ये एक मानिने भद्रकाली मन्दिरमा बिहानैदेखि पूजाअर्चना गर्न र भगवतीको दर्शन गर्न आउने सर्वसाधारणको ठूलो चहलपहल देखिएको छ।

नवरात्रका अवसरमा देवीको विशेष आराधना गर्न मन्दिर पुगेका भक्तजनहरूमध्ये कोही वर्षौँदेखि चल्दै आएको पारिवारिक परम्परालाई निरन्तरता दिन आएका छन् भने कोही परिवारको सुख(शान्ति, स्वास्थ्य र समग्र देशको कल्याणको कामना गर्दै पूजाआजामा तल्लीन भएका छन्।

बडादसैँमा विशेष धार्मिक अनुष्ठान हुने प्रमुख पीठहरूमध्ये भद्रकाली पनि एक हो। नवरात्रका नौ दिनसम्म फरक(फरक शक्तिपीठ पुगेर देवीको दर्शन गर्ने परम्परा अनुसार धेरैजसो भक्तजनहरूले दिनहुँ नयाँ मन्दिर जाने योजना बनाएका छन्।

भद्रकाली मन्दिरमा भेटिएकी सानु थापा उमेरले पाकी भइसकेकी छन्। उनी विगतका दिनहरूमा नवरात्रभर बिहानै नुहाएर शुद्ध हुने, देवीको दर्शन गर्ने र उपत्यकाका विभिन्न मन्दिरहरू घुम्ने गरेको सम्झन्छिन्। तर अहिले भने उमेर ढल्किँदै जाँदा पहिलेजस्तो सहजरूपमा हिँडडुल गर्न कठिन भएको उनी बताउँछिन्।

‘पहिला त नवरात्रभरि नुहाइन्थ्यो, दर्शन गरिन्थ्यो, मन्दिरतिर घुमिन्थ्यो। अहिले बुढेसकालमा पहिले जस्तो हिँड्न सकिँदैन,’ थापा भन्छिन्। उमेरका कारण विगतमा झैँ सबै मन्दिरहरू धाइन नसके पनि दसैँ पर्वप्रतिको उनको आस्था र भक्तिभाव भने अझै उस्तै छ। सबैले दसैँ राम्रोसँग मनाउन पाऊन् र खुसी रहून् भन्ने कामना गर्दै उनी थप्छिन्, ‘दसैँमा सबै जनाले राम्रोसित मानून्, धेरै खुसी होऊन्, भगवान्सँग त्यही प्रार्थना छ।’

यस्तै, भद्रकाली परिसरमा पुगेकी अर्की भक्तजन सीता ढुंगाना नवरात्रमा देवीको आराधना गर्नुको बेग्लै आध्यात्मिक महत्त्व रहेको बताउँछिन्। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दसैँमा भद्रकालीसहितका शक्तिपीठहरूमा पुगेर पूजाअर्चना गर्ने परम्पराले नै आफूलाई पनि मन्दिरसम्म तानेर ल्याएको उनको भनाइ छ।

‘हिन्दूहरूको सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। नवरात्रमा भद्रकाली माताको विशेष महत्त्व भएकाले यहाँ आएका हौँ। सम्पूर्ण देवीदेवताको आ(आफ्नै महत्त्व छ, तर काली माताको मन्दिरमा विशेष रूपमा आउने पुरानो चलन छ,’ ढुंगाना भन्छिन्।

पूजाआजा र दर्शनका लागि मन्दिर पुगेकी ढुंगानाको मनमा भने यस वर्ष देशको समग्र परिस्थितिलाई लिएर केही चिन्ता पनि छ। विगतमा दसैँका बेला गाउँघर जाने, आफन्तहरूसँग भेटघाट गर्ने र रमाइलो गर्ने वातावरण सम्झँदै उनी अहिलेको माहौल केही शान्त र उदास बनेको अनुभव सुनाउँछिन्।

‘पहिला(पहिला गाउँघर गइन्थ्यो, यताउति रमाइलो हुन्थ्यो। अहिले चाहिँ अलि सन्नाटा छाएको जस्तो लाग्छ। देशमा पनि अनेक दुःख र नराम्रा घटना भएका छन्। तैपनि आफ्ना दुःख र पीरलाई थाती राखेरै भए पनि भगवान्‌सँग प्रार्थना गर्न आएकी हुँ,’ उनी भन्छिन्।

देशमा देखिएका विभिन्न समस्या र आपत्विपत्हरू छिट्टै समाधान होऊन् तथा सबै नागरिक मिलेर अघि बढ्दा सकारात्मक परिस्थिति निर्माण होस् भन्ने उनको कामना छ। धार्मिक आस्थासँगै सामाजिक एकता र आपसी भाइचाराको आवश्यकता औँल्याउँदै उनी सबैलाई मिलेर राम्रो काम गर्न आग्रह गर्छिन्।

भद्रकाली मन्दिरमा पुगेका यी भक्तजनका अनुभवले दसैँको धार्मिक, सामाजिक र भावनात्मक पक्षलाई उजागर गर्छन्। कसैका लागि नवरात्र विगतका रमाइला दिनहरूको सम्झना गराउने माध्यम बनेको छ भने कसैका लागि वर्तमानका दुःख(कष्ट बिर्सेर मनलाई शान्त बनाउने पवित्र थलो। देवीको दर्शन र पूजाआजामार्फत उनीहरू आफ्नो व्यक्तिगत जीवन, परिवार र सिङ्गो देशको सुख, शान्ति तथा समृद्धिको कामना गरिरहेका छन्।

प्रकाशित मिति : कार्तिक २, २०८३ सोमबार  ११ : ५३ बजे