काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे ।
कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए ।
नेकपाले शनिबारदेखि आगामी मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानमार्फत संगठन विस्तार र सुदृढीकरणसँगै जनताका समस्या बुझ्ने, पार्टीलाई रूपान्तरण गर्ने र समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य लिएको छ ।










