काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।
पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ ।
यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उनले बताईन् ।
वर्षाको सम्भावना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उनले बताईन् । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने भन्दै सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिईन् । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरिन्। यस्तै धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भएकोले विभागले जारी गर्ने मौसमसम्बन्धी सुचना हेरेर मात्रै धान काट्न पनि उनले किसानहरुलाई आग्रह गरिन्।










