कांग्रेसले बोलायो पदाधिकारी बैठक, पछिल्ला घटनाक्रमबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसले सरकारका पछिल्ला निर्णय तथा गतिविधिबारे पार्टीको आधिकारिक धारणा तय गर्न पदाधिकारी बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि दिउँसो १ बजे बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार सरकारले पछिल्लो समय गरेका विभिन्न निर्णय र चालेका कदम विवादमा पर्दै गएकाले त्यसबारे पार्टीभित्र समीक्षा गर्न बैठक बोलाइएको हो।

‘सरकारका एकपछि अर्को निर्णय र कदम विवादित भइरहेका छन्। त्यसबारेमा छलफल गर्न पदाधिकारीहरूको बैठक बस्न लागेको हो। बैठकपछि सरकारलाई यी विषयमा ध्यानाकर्षण गराउँछौँ,’ ती पदाधिकारीले भने।

बैठकमा सरकारका कामकारबाहीको समीक्षा गर्नुका साथै पार्टीले आगामी दिनमा अपनाउने राजनीतिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ। सरकारका विवादित निर्णयबारे पार्टीको धारणा सार्वजनिक गर्ने र आवश्यक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी कांग्रेसको छ।

सरकारका गतिविधिबाहेक बैठकमा पार्टीका आन्तरिक सांगठनिक विषयले पनि प्राथमिकता पाउनेछन्। नेताहरूको कार्यविभाजन, जिम्मेवारी बाँडफाँट र संगठन सञ्चालनका विषयमा छलफल हुने ती पदाधिकारीले बताए।

त्यसैगरी आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको सांगठनिक सक्रियता र निर्वाचनकेन्द्रित रणनीतिबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

सरकारका कामकारबाहीप्रति पार्टीको धारणा स्पष्ट पार्ने र आन्तरिक संगठनलाई व्यवस्थित बनाउने विषयलाई कांग्रेसले बैठकको मुख्य कार्यसूचीमा राखेको छ। बैठकपछि सरकारप्रति पार्टीले कस्तो धारणा सार्वजनिक गर्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : कार्तिक १४, २०८३ शनिबार  ७ : ०२ बजे