काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
बुधवार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।
उनले यसअघि पनि यस विषयमा छलफल भएको र नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा अघि बढाउँदा आवश्यक सहयोग र परियोजनाबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे ।
उनले दुई देशबीचका विभिन्न महत्वपूर्ण पहल र सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
यस्तै, उनले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न पहल तथा एजेण्डाबारे छलफल केन्द्रित हुने उनले बताए।










