सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा ३० को मृत्यु , ४८ घाइते



पुस २२,काठ्माण्डौ-

गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

सुलेमानीको गृहनगरमा उनको अन्तिम संस्कारमा जम्मा भएका मानिसबीच भागदौड मच्चिएको बिबीसीले जनाएको छ । भागदौडमा कम्तिमा ४८ जना घाइते भएको जनाइएको छ । केर्मन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए ।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए । शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ । इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।

केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो। सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो। तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो।

प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार  ११ : ४० बजे