२५ पुस, गोरखा –
गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती पुस २७ गते जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।
गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले बताएका छन् । स्थानीय तहहरुले बिदा दिनुका साथै केही पृथ्वीजयन्तीमा केही कार्यक्रम पनि राखेका छन् ।
गोरखा नगरपालिकाले पृथ्वीजयन्तकीका अवसरमा दुई दिने कार्यक्रम राखेको छ । पुस २६ गते इतिहासविदको सहभागितामा पृथ्वीनारायण शाह र नेपाल एकीकरणसम्बन्धी प्रवचन र अन्तर्क्रिया कार्यक्रम राखिएको नगर प्रमुख राजनराज पन्तले बताए । पुस २७ गते विहान नगर क्षेत्रमा सरसफाइ, र्याली र सभा आयोजना गरिएको छ भने साँझ दिपावली गर्न नगरवासीलाई आग्रह गरिएको उनले जानकारी दिए ।
पुस २७ गते पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिने गरेको थियो । तर २०६२र६३ को जनआन्दोलनपछि बिदा दिन छोडिएको छ ।








