चीनले भन्यो- वुहानमा बस्ने नेपालीको जीवन रक्षाको हामी ग्यारेन्टी गर्छौ



नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’

चीनको हुपेई प्रान्तको वुहानमा रहेका नेपालीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने पनि चीनले जनाएको छ । कुनै समस्या भएमा नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । विज्ञप्तिमा दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।’

चीनले कोरोना महामारी फैलिनबाट रोक्नका लागि नेपालस्थित डब्लुएचओलाई नेपाली पक्षबाट भएको सहयोगको प्रशंसासमेत गरेको छ ।

प्रकाशित मिति : माघ १८, २०७६ शनिबार  ८ : २२ बजे