दक्षिण कोरियामा चर्चबाट कोरोना भाइरस फैलिएपछी सङ्कटकाल, २५ लाखलाई घरभित्रै बस्न आग्रह



कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढे पछी दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।दक्षिण कोरियाले कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ।

दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

त्यहाँ शुक्रवार मात्रै ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो।

दक्षिण कोरियाको थेगु स्थित स्थानिय चर्चबाट भाइरसको सङ्क्रमण शुरु भएको  बताइएको छ ।  कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्।उक्त चर्चमा रहेका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि दक्षिण कोरियाका अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको जनाएका थिए।बिबिसी समाचारमा आधारित

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  १० : ५६ बजे