संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसिएचआरकी प्रमुखले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको उल्लेख गरेकी छन्।
मानवअधिकार हेर्ने निकायकी प्रमुख मिसेल ब्याचलेटले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी हुन्।
जेनेभामा सम्पन्न मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिसेल ब्याचलेटले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिएकी थिइन्। सरकारले असल नियत लिएर द्वन्द्व पीडित र नागरिक समाज सम्मिलित बृहत छलफल अघि बढाउनुपर्ने उनको सुझाव छ।
लगभग १४ वर्षअघि शुरू भएको नेपालको शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयवस्तुमा उल्लेख्य प्रगति नहुँदा राष्ट्रसङ्घको पछिल्लो भनाइ आएको हो।










